मलंगवा – सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त निराशाजनक देखिएको छ। नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा अधिकांश विद्यार्थी “ननग्रेडेड” भएपछि धनकौलको सामुदायिक शिक्षाको अवस्था फेरि एकपटक उदाङ्गिएको छ।
धनकौल गाउँपालिका शिक्षा शाखाका अनुसार नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा सहभागी १ सय ८० मध्ये २१ जना मात्र “ग्रेडेड” भएका छन्। त्यसमध्ये नियमिततर्फ कुल १ सय ४१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये केवल २० जना विद्यार्थी मात्र “ग्रेडेड” भएका छन् भने १ सय २१ जना विद्यार्थी “ननग्रेडेड” भएका छन्।

त्यस्तै, ग्रेडवृद्धितर्फ ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा १ जना मात्र “ग्रेडेड” भएका छन् भने ३८ जना विद्यार्थी “ननग्रेडेड” भएका छन्। गाउँपालिकाभित्र तीन वटा सामुदायिक माध्यमिक विद्यालय सञ्चालनमा छन्।
धनकौल बजारस्थित दुर्गा माध्यमिक विद्यालयबाट नियमिततर्फ ३४ जना विद्यार्थी सहभागी भएकोमा ३ जना मात्र “ग्रेडेड” भएका छन् भने ३१ जना “ननग्रेडेड” भएका छन्। ग्रेडवृद्धितर्फ ७ जना सहभागी भएकोमा १ जना मात्र “ग्रेडेड” भएका छन्।
हरकटवास्थित जनता माध्यमिक विद्यालयको अवस्था झनै कमजोर देखिएको छ। उक्त विद्यालयबाट नियमिततर्फ ६५ जना विद्यार्थी सहभागी भएकोमा ७ जना मात्र “ग्रेडेड” भएका छन् भने ५८ जना “ननग्रेडेड” भएका छन्। ग्रेडवृद्धि परीक्षामा सहभागी २५ जना विद्यार्थी सबै “ननग्रेडेड” भएका छन्।
धोबिनियास्थित जनकल्याण माध्यमिक विद्यालयबाट नियमिततर्फ ४२ जना विद्यार्थी सहभागी भएकोमा १० जना मात्र “ग्रेडेड” भएका छन् भने ३२ जना “ननग्रेडेड” भएका छन्। ग्रेडवृद्धितर्फ सहभागी ७ जना विद्यार्थी पनि “ग्रेडेड” हुन सकेनन्।
लगातार खस्कँदो नतिजाले विद्यालय प्रशासन, शिक्षक र गाउँपालिकाको शिक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रत्येक निर्वाचनमा जनप्रतिनिधिहरूले “शिक्षामा सुधार”, “सामुदायिक विद्यालयको स्तरवृद्धि” र “गुणस्तरीय शिक्षा” को चर्को भाषण गर्ने गरेका छन्। तर वर्षेनी नतिजा झन् कमजोर बन्दै जानु जनप्रतिनिधिको प्रतिबद्धता भाषणमै सीमित भएको संकेतका रूपमा हेरिएको छ।
स्थानीयले शिक्षा क्षेत्रमा बजेट खर्च भए पनि त्यसको प्रभाव विद्यार्थीको सिकाइमा नदेखिएको गुनासो गरेका छन्। विद्यालय अनुगमन फितलो हुनु, शिक्षकको जवाफदेहिता कमजोर हुनु, नियमित पठनपाठन प्रभावकारी नहुनु तथा जनप्रतिनिधिहरूले शिक्षा सुधारलाई प्राथमिकतामा नराख्नुले सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन खस्कँदै गएको अभिभावकहरूको आरोप छ।
“निर्वाचन आउँदा शिक्षा सुधारको ठूला भाषण हुन्छन्, तर नतिजा हेर्दा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको देखिन्छ,” एक स्थानीय अभिभावकले गुनासो गरे। नतिजा हेर्दा अधिकांश विद्यार्थी न्यूनतम शैक्षिक मापदण्ड पूरा गर्नसमेत असफल भएको देखिन्छ। यस्तो अवस्था दोहोरिरहँदा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वाससमेत कमजोर बन्दै गएको छ।
धनकौल गाउँपालिका शिक्षा शाखा प्रमुख युक्ति रामले एसईईमा निराशाजनक नतिजा आएपछि अब अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताएका छन्। “के कारण यस्तो नतिजा आयो भन्ने विषयमा छानबिन गर्छौं,” उनले भने। यस वर्ष सर्लाही जिल्लाबाट एसईई परीक्षामा १० हजार २१ जना विद्यार्थी सहभागी भएकामा ४ हजार ३ सय ६५ जना “ननग्रेडेड” भएका छन्।





