सर्लाहीमा प्रशासनले शिल गरेका अवैध स्वास्थ्य संस्था अझै संचालनमा

२०८३ जेष्ठ २, शनिबार १३:०४

मलंगवा – सर्लाहीमा जिल्ला प्रशासन कार्यालयले अवैध ठहर गर्दै शिल गरेका स्वास्थ्य संस्था अझै पनि सञ्चालनमै रहेको पाइएको छ। आवश्यक कागजात नपुर्‍याई तथा प्रशासनसँग अनुमति नलिई सञ्चालन भइरहेका ती स्वास्थ्य संस्थालाई केही दिनअघि संयुक्त अनुगमन टोलीले बन्द गराएको थियो। तर शिल गरेको केही दिनमै कतिपय सञ्चालकले ताला फोडेर पुनः सेवा सञ्चालन गरिरहेको पाईएको छ।

गत वैशाख ११ गते जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, सम्बन्धित स्थानीय तह, प्रादेशिक अस्पताल तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको संयुक्त टोलीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो। अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका ११ वटा स्वास्थ्य संस्थामा ताला लगाइएको थियो।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले शिल गरिएका स्वास्थ्य संस्थालाई कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको बताए। उनका अनुसार हालसम्म शिल गरिएका कुनै पनि स्वास्थ्य संस्थाले प्रशासनसँग अनुमति लिएको वा जानकारी गराएर सञ्चालन गरेको पाइएको छैन।

घिमिरेले केही स्वास्थ्य संस्था भने प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताए। स्वास्थ्य संस्था सञ्चालकहरूले दर्ता तथा सञ्चालन प्रक्रिया झन्झटिलो रहेको गुनासो गर्ने गरेको उनको भनाइ छ। विगतमा जिल्लामा स्वास्थ्य सेवाका नाममा विभिन्न अवैध गतिविधि हुने गुनासो आउने गरेको उल्लेख गर्दै उनले पछिल्लो समय नियमित अनुगमनका कारण यस्ता गतिविधिमा कमी आएको दाबी गरे।

तर प्रशासनको आदेश नै अटेर गर्दै शिल तोडेर पुनः सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि भने प्रश्न उठ्न थालेको छ। प्रशासनले ताला लगाए पनि प्रभावकारी निगरानी र कडा कारबाही नहुँदा अवैध रूपमा सेवा सञ्चालन गर्नेहरूको मनोबल बढेको स्थानीयको आरोप छ।

घिमिरेले अनुगमनका क्रममा शिल तोडेर सञ्चालन गरिरहेको भेटिए कानुनी कारबाही गरिने चेतावनी दिए। उनका अनुसार पछिल्लो अनुगमनका क्रममा केही स्वास्थ्य संस्थामाथि कारबाहीसमेत गरिएको थियो भने केही सञ्चालक अनुगमन टोली पुगेपछि फरार भएका थिए।

अनुगमन टोलीले मलंगवास्थित लाइफ लाइन मेडिमेयर पोलिक्लिनिकसहित ११ वटा स्वास्थ्य सँस्था बन्द गाराएको थियो। हिँजो शुक्रबार मलंगवामा मापदण्ड पुरा नगरेको थप एउटा स्वास्थ्य संस्था बन्द गराईएको छ। अनुगमनका क्रममा मलंगवामा सञ्चालनमा रहेको कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिकमा ताला लगाईएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार