मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलवासस्थित नारायण माध्यमिक विद्यालयको खेल मैदानमा सुरक्षा निकायहरूको संयुक्त विपद् पूर्वतयारी अभ्यास सम्पन्न गरिएको छ।
जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजनामा तथा ईश्वरपुर नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा आगलागीजन्य विपद्लाई आधार बनाएर कृत्रिम घटना अभ्यास (सिमुलेसन एक्सरसाइज) सञ्चालन गरिएको हो।

अभ्यासका क्रममा आगलागीको काल्पनिक घटना सिर्जना गरी उद्धार, नियन्त्रण तथा समन्वयका विभिन्न प्रक्रिया प्रदर्शन गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा विपद्का बेला अपनाइने तयारी र उद्धार कार्यको अभ्यास गरेका थिए।
कार्यक्रममा स्थानीय भद्रभलाद्मी, विद्यार्थी लगायत करिब २०० जनाको सहभागिता रहेको थियो। विपद् आउँदा हुने सम्भावित क्षति न्यूनीकरण तथा नागरिकमा पूर्वतयारीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ।





