सर्लाही – नयाँ वर्ष २०८३ सुरु भएयता जेठ १० गतेसम्म देशभर एक हजार ३४२ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा परेर ७० जनाले ज्यान गुमाएका छन् भने ३३३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो ४० दिनमा भएका ती घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६ जनाको मृत्यु भएको छ । चट्याङबाट १४, आगलागीमा ११, हुरीका कारण नौ तथा जनावरको आक्रमणमा परी आठ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, सर्पदंशबाट पाँच, पहिरो र डुंगा पल्टिँदा दुई/दुई तथा डढेलो, बाढी र हिउँपहिरोका घटनामा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
घटनाको संख्या हेर्दा आगलागीका घटना सबैभन्दा बढी रहेका छन् । देशभर ४८८ वटा आगलागीका घटना भएका छन् भने हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना दर्ता भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । साथै १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।
देशमा मनसुन भित्रिने समय नजिकिँदै गर्दा बाढी पहिरोको जोखिम बढ्न थालेको छ भने केही क्षेत्रमा तातो हावाको लहरसमेत जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।





