मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – ११ माधोपुरमा बाल विवाह न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक वृहत् र्याली तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
गोडैता नगरपालिकामा गठित जेन्जी युथ फोर्स क्लवको नेतृत्वमा शनिबार आयोजित कार्यक्रममा “बाल विवाह अन्त्य गरौँ, शिक्षित र सुरक्षित भविष्य निर्माण गरौँ” भन्ने सन्देश प्रवाह गरिएको थियो।

माधोपुर क्षेत्रलाई नमुना बस्ती घोषणा गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विशेषगरी दलित समुदाय तथा विपन्न परिवारलाई लक्षित गर्दै बाल विवाहका असर, कानुनी व्यवस्था र सामाजिक चुनौतीबारे जानकारी गराइएको रास्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका फिल्ड सुपर भाईजर मो. सलामले जानकारी दिए।
त्यसैगरी, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलङ्गवा, सर्लाहीको समेत कार्यक्रममा सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमअन्तर्गत माधोपुर क्षेत्रमा सचेतनामूलक र्याली निकाल्नुका साथै बाल विवाह अन्त्यका लागि समुदायस्तरमै अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा नगर बाल क्लब सञ्जालका अध्यक्ष वेद प्रकाश झा, नगरस्तरीय जेन्जी युथ फोर्स क्लवका अध्यक्ष हरिन्द्र साह, रास्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कर्मचारीहरु निक्कि जैश्वाल, किम्मि मलिक, वडा नं. ११ का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, स्थानीय युवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





