सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ ११, सोमबार ०७:०९
साङ्केतिक तस्बिर

सर्लाही – सिरहामा भैँसी खेतमा पसेको विषयलाई लिएर एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका –३ का ५५ वर्षीय पवित्र नारायण यादव रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले शनिबार साँझ नयाँ चोहर्वा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डलमाथि कुटपिट गरेको आरोप लागेको हो ।

गत वैशाख २७ गते अपराह्न मण्डलको भैँसी यादवको खेतमा प्रवेश गरेपछि विवाद उत्पन्न भएको र त्यसक्रममा महिलामाथि हातपात भएको बताइएको छ । घटनापछि पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन् ।

सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिएर प्रहरीले यादवलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका यादवलाई हाल प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार