सांसद धिमालद्वारा विद्यालयको अनुगमन, पहिलो तलब बराबरको रकम सहयोग गर्ने घोषणा

२०८३ जेष्ठ ११, सोमबार १५:२८

सर्लाही – बारा क्षेत्र नम्बर – १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले जिल्लाको आदर्श कोतवाल गाउँपालिका – १ जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयको सोमबार अनुगमन गरेका छन्। विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा प्रशासनिक चुनौतीबारे प्रत्यक्ष जानकारी लिन उनि विद्यालय पुगेका हुन्।

अनुगमनका क्रममा विद्यालय व्यवस्थापन समितिले विद्यालयमा लामो समयदेखि देखिँदै आएका समस्याबारे सांसद धिमाललाई जानकारी गराएको थियो। विशेषगरी कक्षाकोठा अभाव, भौतिक संरचनाको कमजोर अवस्था, शिक्षक अभाव तथा आर्थिक स्रोतको समस्याले पठनपाठन प्रभावित भइरहेको विषयमा छलफल भएको थियो।

विद्यालय निरीक्षणका क्रममा अधिकांश विद्यार्थी नाङ्गा खुट्टै विद्यालय आएको देखेपछि सांसद धिमाल केहीबेर भावुक बनेका थिए। त्यसपछि उनले ती विद्यार्थीका लागि जुत्ता खरिद गर्न आफूले पाउने पहिलो पारिश्रमिक बराबरको रकम ४० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

उनले आधारभूत तहको शिक्षा नै बालबालिकाको भविष्य निर्माण गर्ने आधार भएकाले विद्यालयका समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “यहाँ देखिएका समस्यालाई नीतिगत र व्यवहारिक रूपमा समाधान गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु,” उनले भने, “विद्यालयको आवश्यकता पहिचान गरेर योजनाबद्ध ढंगले काम अगाडि बढाइनेछ।”

विसं २०५७ सालमा स्थापना भएको पुरानो विद्यालय भएर पनि हालसम्म पर्याप्त पूर्वाधार निर्माण हुन नसक्नु दुःखद रहेको सांसद धिमालले बताए। साथै, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी विद्यालयका समस्याको दीर्घकालीन समाधान खोजिने आश्वासन पनि उनले दिए। अनुगमनकै क्रममा निजगढकी सामाजिक अभियन्ता सरिता सापकोटाले बालविकास कक्षाको व्यवस्थापनका लागि कार्पेट सहयोग जुटाउने पहल गर्ने बताईन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूर आलम बादशाहको नेतृत्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह, वडा अध्यक्ष सुनील कुशवाहा, सामाजिक अभियन्ता सरिता सापकोटा, स्थानीय समाजसेवी प्रदीप कुशवाहा, रूपेन्द्र कुशवाहा, गजेन्द्र कुशवाहा, विद्यालय व्यवस्थापन समितिका सदस्य फगुनी मुखिया, शेख सरफुदीन, प्रधानाध्यापक, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बादशाहका अनुसार २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आवश्यक भौतिक संरचना र शैक्षिक सामग्रीको अभाव हुँदा पठनपाठनसँगै अतिरिक्त गतिविधिसमेत प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार