सर्लाही – महोत्तरीको जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका – ६ निवासी ७५ वर्षीय चन्देश्वर साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जनकपुरतर्फ जाँदै गरेको ना४ख ४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नगरपालिका – २ स्थित मटिहानी चोकमा साहलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने चालक महोत्तरीको पिपरा गाउँपालिका–९ अलिपट्टी निवासी सत्यनारायण यादव रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।





