मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित झिलिमिली माई सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको उन्नत जातको केराको बिरुवा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर मलंगवाबाट सप्रनाउ विष्णु अधिकारीको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्ने क्रममा ठूलो परिमाणमा केराको बिरुवा फेला पारेको हो।

प्रहरी टोली पुगेको थाहा पाएलगत्तै बिरुवा ल्याउँदै गरेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। घटनास्थलबाट प्रहरीले ३ क्यारेटमा राखिएको करिब ७ हजार ५ सय वटा उन्नत जातको केराको बिरुवा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको बिरुवाको अनुमानित बजार मूल्य करिब ७ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका बिरुवाहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्लान्ट क्वारेन्टाइन कार्यालय मलंगवामा बुझाइएको छ।





