सर्लाही – पर्साको वीरगन्जमा निर्माणाधीन घरको टपसहितको इँटाको पर्खाल भत्किएर खस्दा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ निवासी ३२ वर्षीया सीतादेवी मुसहर रहेको प्रहरीले जनाएको छ।
वीरगन्ज महानगरपालिका–६ मा ओम अग्रवालले निर्माण गरिरहेको नयाँ घरमा बिहीबार दिउँसो काम गर्ने क्रममा अचानक टपसहितको इँटाको पर्खाल भत्किएर खसेपछि त्यहीँ काम गरिरहेकी मुसहर च्यापिएकी थिइन्। घटनामा उनी गम्भीर घाइते भएकी थिइन्।

घटनालगत्तै उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
घटनापछि प्रहरीले निर्माणाधीन घरका मालिक ओम अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।





