मलंगवा – सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको रामनगर गाउँपालिका – ६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन्। सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह भई उनको लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। विद्युतीय उपकरणको प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।





