दिल्लीमा चार तले भवन भत्किँदा ६ जनाको मृत्यु

२०८३ जेष्ठ १७, आईतवार ०८:११

सर्लाही – भारतको राजधानी दिल्लीस्थित वेलकम क्षेत्रमा आइतबार बिहान चार तले आवासीय भवन भत्किँदा ६ जनाको ज्यान गएको छ भने एक वर्षीय बालकसहित ८ जना घाइते भएका छन्।

स्थानीय प्रशासनका अनुसार सीलमपुरको ईदगाह रोड नजिक रहेको जनता कोलोनीको गल्ली नम्बर ५ मा बिहान करिब ७ बजे उक्त भवन एक्कासि ढलेको हो। भवनमा एउटै परिवारका करिब १० जना सदस्य बसोबास गर्दै आएका थिए।

भवन भत्किएलगत्तै आसपासका बासिन्दा तथा बिहानको पैदल यात्रामा निस्किएका स्थानीयहरू उद्धारमा जुटेका थिए। दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै उनीहरूले भग्नावशेषमा पुरिएकाहरूलाई बाहिर निकाल्ने प्रयास सुरु गरेका थिए।

घटनापछि सुरक्षाकर्मी, दमकल र उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका छन्। केही घाइतेलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। भवन किन भत्कियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्। यसअघि तीन महिनाअघि दिल्लीको मुस्तफाबाद क्षेत्रमा पनि एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार