खुर्पा प्रहार गरी ६३ वर्षीय बुबाले गरे ४३ वर्षीय छोराको हत्या

२०८३ जेष्ठ १७, आईतवार ०८:१९
सांकेतिक तस्बिर

सर्लाही – पूर्वी नवलपरासी (नवलपुर)मा एक बुबाले आफ्नै छोराको हत्या गरेका छन्। घरायसी विवादका क्रममा भएको झगडामा धारिलो हतियार खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

गैंडाकोट नगरपालिका – १५ चिन्तामणी टोल निवासी ६३ वर्षीय डम्मर गिरीले शनिबार राति करिब १० बजेतिर ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका थिए। प्रहारबाट शंकरको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते शंकरलाई तत्काल उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको भए पनि उपचारकै क्रममा राति १०:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको खुर्पा बरामद गर्नुका साथै आरोपित डम्मर गिरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले पक्राउ परेका गिरीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। घटनाको कारण र विवादको वास्तविक पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार