सर्लाही – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा विस्तृत छलफल सुरु हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफल प्रारम्भ गरिनेछ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण ले जेठ १५ गते प्रदेशसभाको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संविधानको व्यवस्था अनुसार प्रस्तुत गरिएको उक्त दस्ताबेजमा कृषि, शिक्षा, रोजगारी तथा समग्र प्रदेश विकासलाई प्राथमिकतामा राखिएको छ।

२७ पृष्ठको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, माटोको गुणस्तर सुधार, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारीका अवसर विस्तार तथा शिक्षा क्षेत्रको सुधारलाई मुख्य आधार बनाइएको छ। प्रदेश सरकारका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिका लागि ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘किसानको शान, मधेसको मखान’ तथा ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ जस्ता अभियान सञ्चालन गरिनेछ।
यस्तै युवालाई प्रदेशभित्रै रोजगारी उपलब्ध गराउने उद्देश्यसहित ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्रमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन ‘अप्पण बच्चाके स्कूल पठाऊ, साक्षरता के दीप जलाऊ’ अभियानलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
प्रदेशसभामा हुने छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा, सुझाव र आलोचना प्रस्तुत गर्नेछन्। छलफलबाट प्राप्त सुझावलाई समेटेर आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिइएको प्रदेश सरकारका अधिकारीहरूले बताएका छन्।





