मलंगवा – सर्लाहीको बागमती नगरपालिका – ८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बागमती नगरपालिका – ८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो।

सोहि क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका – ७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ।
यसैगरी, प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७७० तथा भारतीय रुपैयाँ ९०० समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको छ।





