सर्लाही – मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले मंगलबार उनलाई चार वर्ष कैद सजायसँगै ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइराला रहेको इजलासले सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा दोष प्रमाणित भएपछि सजाय निर्धारण गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिहरूसँग घुस तथा कमिसन असुलेको आरोपमा सिंहलाई गत वर्ष पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सांसद विकास कोषअन्तर्गत सञ्चालन भएका योजनाबाट उनले ३७ प्रतिशतसम्म कमिसन लिएको तथ्य फेला परेको थियो। आयोगका अनुसार उक्त रकम उनको व्यक्तिगत खातामै जम्मा भएको प्रमाणसमेत भेटिएको थियो।
लामो अनुसन्धान र सुनुवाइपछि अदालतले सिंहलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंह हाल निलम्बित अवस्थामा छन्।
उनी जनता समाजवादी पार्टी (जसपा) का नेता तथा मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्रीसमेत हुन्। अदालतको पछिल्लो फैसलासँगै सार्वजनिक पदमा बसेर अनियमितता गर्नेहरूमाथि कानुनी कारबाहीको सन्देश गएको टिप्पणी गरिएको छ।





