जोतिरहेको गोरुलाई यातना दिएको आरोपमा एक जना पक्राउ

२०८३ जेष्ठ २१, बिहीबार १७:२१
साङ्केतिक तस्बिर

सर्लाही – प्युठानमा खेत जोत्ने क्रममा गोरुमाथि अमानवीय तथा क्रूर व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले गौमुखी गाउँपालिका – १ निवासी ३६ वर्षीय जालिराम थापामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

सार्वजनिक भिडियोमा खेत जोत्दै गरेको गोरु थकान वा अशक्तताका कारण हिँड्न नसकेर बसेपछि त्यसलाई उठाउन खोज्ने क्रममा चरम यातना दिइएको देखिएको थियो। भिडियोमा गोरुको नाकमुख माटोले पुरिने गरी खाल्डोमा गाडेर दुर्व्यवहार गरिएको दृश्य देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो।

घटना सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै आरोपित थापामगरलाई पक्राउ गरेको जनाएको छ। नेपाल प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार थापामगरविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। उक्त कानुनी व्यवस्थाअनुसार कुनै पनि पशुपन्छीमाथि अनावश्यक पीडा, यातना वा क्रूर व्यवहार गर्न नपाइने उल्लेख छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पशु अधिकारकर्मी तथा सर्वसाधारणले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाका सबै पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार