बारामा सर्पले डसेर १९ महिने बालकको मृत्यु

२०८३ जेष्ठ २१, बिहीबार १७:३२

सर्लाही – बाराको पचरौता नगरपालिका – ४ बेल्दारीमा सर्पले डसेर १९ महिने एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय संजय रामका छोरा धनजय राम रहेका छन्।

आमासँगै खेतमा गएका बालकलाई सर्पले डसेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनजयकी आमा सोनापती देवी स्थानीय रवीन्द्र यादवको खेतमा ज्यालादारी गर्न गएकी थिइन्। कामका क्रममा उनले बालकलाई पनि सँगै लगाएकी थिइन्।

आमा खेतमा व्यस्त रहेका बेला नजिकै खेलिरहेका बालकलाई सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना थाहा पाएलगत्तै स्थानीयले बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक बालकको शव परीक्षण प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार