आगामी तीन दिन तराई – मधेसमा तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

२०८३ जेष्ठ २१, बिहीबार २०:१७

सर्लाही – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तराई–मधेसका विभिन्न जिल्लामा तातो हावा तथा मध्यम तातो लहरको प्रभाव देखिन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार विशेष मौसम बुलेटिन जारी गर्दै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो हावा चल्नुका साथै मध्यम तातो लहरको अवस्था सिर्जना हुन सक्ने जनाएको हो।

उच्च तापक्रमका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा वृद्धवृद्धा, बालबालिका र बिरामीको विशेष हेरचाह गर्न सुझाव दिइएको छ।

महाशाखाका अनुसार सर्लाही, बारा, रौतहट, पर्सा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा तातो हावा तथा तातो लहरको प्रभाव देखिन सक्ने सम्भावना छ। यसैगरी, कञ्चनपुर, कैलाली, चितवन, सुनसरी, मोरङ र झापाका बासिन्दालाई पनि मौसमको अवस्थाबारे नियमित जानकारी लिन र सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाले शुक्रबार र शनिबार कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। तराई क्षेत्रमा पनि आंशिक बदली रहने सम्भावना रहेको छ।

यस्तै, शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। शनिबार पनि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले एकातिर तराई–मधेसमा बढ्दो गर्मी र तातो हावाको प्रभाव तथा अर्कोतर्फ केही क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार