सर्लाही – बाराको बिश्रामपुर गाउँपालिका–२ बरैनिया बजारबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन्।
बिहीबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज तथा स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गरेको जाँचका क्रममा १७ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठी गाउँ निवासी २० वर्षीय अजित मगिज्ञा र भारतको मोतिहारी हरपुर पञ्चायत–६ बस्ने २१ वर्षीय राकेश कुमार साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सवार बीआर ०५ बीटी ३७५६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। बरामद गरिएको पदार्थ ब्राउनसुगर भएको आशंकामा परीक्षण तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





