मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ बबरगञ्जमा सडक किनारमा बसेका स्थानीयमाथि मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय रामप्रसाद सिंह दनुवार रहेका छन्। शुक्रबार राति करिब ९ बजे मलंगवा–बयलबास सडकखण्ड अन्तर्गत पोखरियातर्फ गइरहेको ३–०२–०१० प ४०५९ नम्बरको मोटरसाइकलले चुल्हाई राय दनुवारको घरअगाडि बसेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रामप्रसादलाई प्राथमिक उपचारका लागि लालगढ मोडेल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं लिने क्रममा बाटोमै शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा आशा सिंह दनुवार, रामप्रीत महतो र तपेश्वर महतोसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घरअगाडि बसेका घाइतेहरूको अवस्था सामान्य रहेकाले उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए। मोटरसाइकल चालक सनवाज मुकेरी र पछाडि बसेका उमैद मन्सुर उपचाररत छन् भने अर्का सवार तनवीर मन्सुरी घटनापछि फरार भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। स्थानीयवासीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको र ठक्करपछि वृद्ध दनुवारलाई केही परसम्म घिसार्दै लगेको थियो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।





