रौतहटमा भन्सार छलीका सामान र गाडीसहित एक जना पक्राउ

२०८३ जेष्ठ २३, शनिबार १८:३०
साङ्केतिक तस्बिर

सर्लाही – जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेका सामग्रीहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई छुट्टाछुट्टै स्थानबाट ती सामग्रीहरू बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका वडा नं. ५ स्थित बमनहर सडकखण्डमा जाँच गर्ने क्रममा शनिवार बिहान प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीबाट अवैध सामान बरामद गरेको छ।

चालक गाडी छाडेर फरार भएको र प्रहरीले बेवारिसे अवस्थामा फेला परेको रौतहट प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए। उनका अनुसार गाडीमा लोड गरिएको १ लाख ५० हजार रुपैयाँ बराबरको ३,००० किलोग्राम मिठा (गुँड) र २० लाख रुपैयाँ बराबरको पिकअप गाडी समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित झाझ पुल नजिक चेकिङ गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको ९ हजार रुपैयाँ बराबरको ८१ थान माउन्टेन डिउ (२.२५ लिटर) नियन्त्रणमा लिएको छ। ती सामग्रीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिई गौर भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार