सर्लाही – नेपालमा मात्र पाइने दुर्लभ रैथाने चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो पटक अभिलेख भएको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – २२ स्थित दुधौरा खोलानजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा काँडेभ्याकुर देखेका हुन्। नेपालबाहेक अन्य कुनै देशमा अभिलेख नभएको यो चरा मधेश प्रदेशमा पहिलो पटक फेला परेको उनले बताए।

यसअघि काँडेभ्याकुरको अभिलेख कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र रहेको थियो। मधेश प्रदेशमा यसको उपस्थिति पुष्टि भएसँगै यस चराको वितरण क्षेत्र थप विस्तार भएको मानिएको छ।
काँडेभ्याकुर नेपालका विशिष्ट रैथाने चरामध्ये एक हो। सानोदेखि मध्यम आकारको यस चराको शरीर खैरो वा हल्का खैरो रङको हुन्छ। शरीरमा काँडाजस्ता देखिने प्वाँखका कारण यसलाई काँडेभ्याकुर नाम दिइएको मानिन्छ। लजालु स्वभावको यो चरा प्रायः खुला स्थानमा कम देखिने तथा झाडीभित्र लुकेर बस्ने गर्छ।
यो चरा मुख्यतः चुरे क्षेत्रका वन, घना झाडी, सुख्खा पातपतिङ्गरले ढाकिएका जंगल तथा मानवीय गतिविधि कम हुने क्षेत्रमा बस्न रुचाउँछ। जमिन नजिकै रहने बानीका कारण यसको अवलोकन र अध्ययन सहज छैन।
वन फँडानी, चुरे क्षेत्रको बासस्थानमा भइरहेको क्षति तथा बढ्दो मानवीय गतिविधिका कारण काँडेभ्याकुरको प्राकृतिक वासस्थान खुम्चिँदै गएको संरक्षणकर्मीहरू बताउँछन्। सीमित क्षेत्रमै पाइने र सहजै नदेखिने भएकाले यसको अध्ययनसमेत न्यून रहेको छ।





