मलंगवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही जिल्ला अधिवेशन स्थगित भएको छ। आइतबार बिहान १० बजेका लागि तय भएको जिल्ला अधिवेशन मतदाता नामावलीलगायत प्रक्रियागत विषयमा त्रुटि देखिएको जनाउँदै जिल्ला निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो।
हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आयोजना गरिएको अधिवेशनका लागि जिल्लाभरबाट कार्यकर्ता बिहानैदेखि जम्मा भएका थिए। अधिवेशनको उद्घाटन र नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षामा रहेका कार्यकर्तालाई दिउँसो करिब पौने ४ बजे अधिवेशन स्थगित गरिएको जानकारी गराइएको थियो।

जिल्ला निर्वाचन समितिका संयोजक डा. जयप्रकाश महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतदाता नामावलीसहित केही प्रक्रियागत त्रुटि भेटिएकाले अधिवेशन तत्कालका लागि स्थगित गरिएको उल्लेख छ। नयाँ मिति भने पछि तय गरिने जनाइएको छ।
स्थगनको सूचना सार्वजनिक भएसँगै कार्यक्रमस्थलमा उपस्थित कार्यकर्ताले असन्तुष्टि जनाएका थिए। दिनभर चर्को गर्मीमा कार्यक्रमस्थलमा राखेर अन्तिम समयमा अधिवेशन स्थगित गरिएको भन्दै केही कार्यकर्ताले नेतृत्वको आलोचना गरेका थिए।
त्यसक्रममा कार्यकर्ताबीच भनाभन र सामान्य धकेलाधकेलको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन्।





