सर्लाहीमा प्रहरीमाथि हातपात र अनुसन्धानमा अवरोध गरेको आरोपमा दुई जना पक्राउ

२०८३ जेष्ठ २६, मंगलवार १७:३५

मलंगवा – सर्लाहीमा सवारी दुर्घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीमाथि हातपात तथा अनुसन्धानमा अवरोध गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराती कबिलासी नगरपालिका – ८ अगर्वास्थित मलंगवा सडकखण्डमा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकलाई ज १ त २५५० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको घटनापछि अनुसन्धानका क्रममा विवाद उत्पन्न भएको हो।

प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला ट्र्याक्टर धनी कबिलासी नगरपालिका – १० सलेमपुर निवासी अशोक कुमार यादवसहित २०,२५ जनाको समूह घटनास्थलमा पुगेको थियो। उक्त समूहले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरी केही प्रहरीलाई घाइते बनाएको तथा ट्र्याक्टर लिएर फरार भएको आरोप प्रहरीले लगाएको छ।

घटनापछि संलग्न व्यक्तिहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीलाई अवरोध तथा हुलहुज्जत गरेको आरोपमा सलेमपुरका १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट आठ दिनको म्याद थप गरिएको छ। प्रहरीमाथि हातपात गरेको आरोप लागेका अशोक कुमार यादवसहित घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा यस सम्बन्धि थप अनुसन्धान भईरहेको प्रवक्ता गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार