सर्लाही – सिरहाको सुखुवानन्कारकट्टी गाउँपालिका–५ ईटहर्वाबाट प्रहरीले ७७ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स्थानीय आनन्द कुमार यादवको गोठघरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। प्रहरीले भकारीभित्र ६ वटा झोलामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ।

घरधनी यादव घरमा नभेटिएपछि स्थानीय व्यक्तिहरूको रोहवरमा गोठघरको ताल्चा खोलेर खानतलासी गरिएको थियो। बरामद गाँजा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





