गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने मधेशका ४१ उद्योगविरुद्ध मुद्दा

२०८३ जेष्ठ २७, बुधबार २२:३६
सांकेतिक तस्बिर

सर्लाही – खाद्य पदार्थको गुणस्तरमा लापरबाही गर्दै उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याएको आरोपमा मधेश प्रदेशका ४१ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले गरेको अनुगमन तथा प्रयोगशाला परीक्षणबाट गुणस्तरहीन र मिसावटयुक्त खाद्य पदार्थ उत्पादन गरिएको पुष्टि भएपछि सम्बन्धित उद्योगविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएका खाद्य नमुनाको परीक्षणका क्रममा दर्जनौं उद्योगले तोकिएको गुणस्तर मापदण्ड पालना नगरेको भेटिएको थियो। परीक्षण प्रतिवेदनका आधारमा ४१ उद्योगविरुद्ध मुद्दा दायर गरिएको उनले बताए।

कारबाहीमा परेका उद्योगमध्ये अधिकांश पर्सा र बाराका रहेका छन्। ती दुई जिल्लाका मात्रै ३८ उद्योगविरुद्ध मुद्दा दायर भएको कार्यालयले जनाएको छ। कारबाहीमा सूर्यमुखी तेल उत्पादन गर्ने ८ उद्योग, भटमास तेल उत्पादन गर्ने ४ उद्योग, मह उत्पादन गर्ने १७ उद्योग, वामोलिस उत्पादन गर्ने १ उद्योग तथा वनस्पति घ्यु उत्पादन गर्ने २ उद्योग रहेका छन्।

यस्तै, सर्लाहीमा पाउरोटी, चाउमिन तथा प्रशोधित खानेपानी उत्पादन गर्ने तीन उद्योगविरुद्ध पनि मुद्दा दायर गरिएको छ। खाद्य पदार्थको गुणस्तर परीक्षणका क्रममा निर्धारित मापदण्ड पूरा नगरेको पाइएपछि ती उद्योगलाई कानुनी दायरामा ल्याइएको जनाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार दायर गरिएका मुद्दामध्ये केही जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छन् भने केही जिल्ला अदालतमा पुगेका छन्। धनुषाका तीन उद्योगमाथि भने थप अनुसन्धान भइरहेको बताइएको छ।

यसैबीच, स्वास्थ्य क्षेत्रका अधिकारीहरूले गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य पदार्थ जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन्।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले यस्ता खाद्य वस्तुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मिर्गौलासम्बन्धी समस्या बढाउने जोखिम रहेको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार