कर्मचारीले त २१ प्रतिशत पाए, गरिबले के पाए ? – सांसद सिंह

२०८३ जेष्ठ २८, बिहीबार १३:४३

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री स्वर्णिम वाग्ले लाई बजेटबाट गरिब वर्गले के उपलब्धि प्राप्त गर्‍यो भन्ने प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद सिंहले बजेटले आम नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरे। उनले बजेटबाट वास्तवमा कति नागरिक खुसी छन् भन्ने प्रश्न उठाउँदै सरकारलाई जनताको वास्तविक जीवनस्तरसँग जोडिन आग्रह गरे।

सिंहले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि ठोस योजना बजेटमा समावेश नभएको गुनासो गरे। सातै प्रदेशमा काठमाडौंको बूढानीलकण्ठ विद्यालयजस्तै आवासीय विद्यालय स्थापना हुने अपेक्षा आफूले गरे पनि बजेटमा त्यस्तो व्यवस्था नदेखिएको उनको भनाइ थियो।

उनले कर्मचारीको तलब तथा सुविधामा वृद्धि गरिए पनि गरिब तथा विपन्न वर्गका लागि उल्लेखनीय कार्यक्रम नआएको दाबी गरे। “कर्मचारीले २१ प्रतिशत पाएका छन्, तर गरिबले के पायो ? देशको तीन करोड जनसंख्यामा कर्मचारीको संख्या कति छ ?” भन्दै उनले सरकारलाई प्रश्न गरे।

सांसद सिंहले आफ्नो चिन्ता विशेषगरी मुसहर, चेपाङलगायत पिछडिएका समुदायको जीवनस्तरसँग जोडिएको उल्लेख गर्दै बजेटले उनीहरूको अवस्था सुधार्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको बताए।

बजेट कार्यान्वयनको क्षमतामाथि पनि उनले शंका व्यक्त गरे। दक्षिण एसियाका देशहरूमध्ये कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ३२–३३ प्रतिशत बराबरको बजेट बनाउने अभ्यास दुर्लभ रहेको उल्लेख गर्दै उनले यस्तो आकारको बजेटलाई “फुकेको ठूलो बेलुन” को संज्ञा दिए।

“फुकेको बेलुन धेरै समय टिक्न सक्दैन,” उनले भने, “यो बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास छैन, अरूलाई विश्वास होला।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार