सर्लाही – उपत्यका विकास प्राधिकरणअन्तर्गत वाग्मती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करार सेवामा कार्यरत अमिन दिनेश प्रसाद यादव गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन्।
विशेष अदालतले यादवले आफ्नो वैध आम्दानीभन्दा बढी १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै उनलाई एक वर्ष कैद र सोही रकम बराबरको जरिवाना सुनाएको हो।

अदालतले उक्त रकम बराबरको अवैध सम्पत्ति जफत गर्न समेत आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यादवलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो।
अदालतको फैसलाअनुसार २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको अवधिमा यादवको वैध खुद आम्दानी ४ करोड २५ लाख ९२ हजार ९५१ रुपैयाँ ३० पैसा रहेको देखिएको छ।
तर सोही अवधिमा उनको खर्च तथा लगानी ५ करोड ३८ लाख ६३ हजार ६१९ रुपैयाँ ९२ पैसा पुगेको पाइएपछि स्रोत नखुलेको रकमलाई गैरकानुनी आर्जन ठहर गरिएको हो।
फैसलामा यादवको पद, जिम्मेवारी र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको परिमाणलाई आधार मानी भ्रष्टाचार निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सजाय निर्धारण गरिएको उल्लेख छ।
त्यसैगरी, अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा ४ लाख ५० हजार ८२६ रुपैयाँ क्षतिपूर्ति शुल्कसमेत जम्मा गर्न आदेश दिएको छ। अदालतले कित्ता नम्बरमा निर्माण गरिएको घर बाहेक १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ ६२ पैसा बराबरको जग्गा तथा त्यसबाट थप बढेको सम्पत्ति समेत जफत हुने फैसला गरेको छ।





