गोडैतामा अदालतको फैसला कार्यान्वयन गर्न आएका कर्मचारीमाथि दुर्व्यवहार, वडाध्यक्षसहित दुई जना पक्राउ

२०८३ असार २, मंगलवार २०:५८

मलंगवा – सर्लाही प्रहरीले गोडैता नगरपालिका – ५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तासहित दुई जनालाई पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको टोलीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार केही दिनअघि चलानी डोर कार्यका लागि पुगेका कर्मचारी तथा सुरक्षाकर्मीमाथि अवरोध र दुर्व्यवहार भएको विषयमा परेको उजुरीका आधारमा वडाध्यक्ष गुप्तालाई सोमबार साँझ पक्राउ गरिएको हो।

सोही घटनामा सोही ठाउँका सुरेन्द्र यादव पनि पक्राउ परेका छन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पीडित कर्मचारीले आफू अदालतको आदेश कार्यान्वयनका लागि खटिएको समयमा स्थानीय व्यक्तिहरूबाट दुर्व्यवहारको सामना गर्नुपरेको बताएका छन्। उनका अनुसार सुरक्षाकर्मीले आफूलाई घटनापछि सुरक्षीत स्थान ( कोठा ) मा लगेर राखेकै अवस्थामा प्रहरिकै अगाडि वडाध्यक्ष गुप्ताले हातपात गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार