सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको रु. ३२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४:०० बजे मलंगवा नगरपालिका – १० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५-००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद रु. ३२ लाख फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका – ३ निवासी २८ वर्षीय गुडु कुमार यादव र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट रु. ३२ लाख नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र स्यामसुंग ग्यालेक्सी एम् ३६ मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भईरहेको छ।





