मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका – १ मानपुरमा एक पुरुषको विभत्स हत्या गरिएको छ। भैंसी गोठमा सुतिरहेका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजेतिर अज्ञात व्यक्तिहरूले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि परिवारका सदस्यले उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदी का अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ र विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।
मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुवा अत्यन्त सरल र सोझो स्वभावका व्यक्ति रहेको बताउँदै कसैसँग कुनै विवाद वा दुश्मनी नरहेको बताए। हत्याको कारण र संलग्न व्यक्तिबारे परिवारसमेत अनभिज्ञ रहेको उनको भनाइ छ।





