गोडैता – सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरपालिकाभित्रका लक्षित सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका खोप प्राप्त गरेको सुनिश्चित भएपछि सोमबार आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न योगदान पुर्याउने तीन स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो। वडा नं. ४ स्थित स्वास्थ्य चौकी रोहुवा, वडा नं. ११ स्थित स्वास्थ्य चौकी सिसौटिया र वडा नं. ३ स्थित स्वास्थ्य चौकी सिमरा भगवतीपुर उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा सम्मानित भएका हुन्।

यस्तै, खोप कार्यक्रमको प्रवर्द्धन र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको भन्दै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ( आरआरपिके ) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) लाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोपको महत्वपूर्ण भूमिका रहेको भन्दै खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्थालाई कायम राख्न नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा नगरप्रमुख देवेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डित, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीकि स्वास्थ्य अधिकृत सबनम यादव, जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील झा, पालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्य प्रमुखहरु, पालिकाका वडा अध्यक्षहरु लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





