सर्लाही – सुनसरीमा कारको ठक्करबाट नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ।
मंगलबार बर्जु गाउँपालिका–६ स्थित नरहचोक नजिक भएको सवारी दुर्घटनामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका – १ निवासी ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको हो।

प्रहरीका अनुसार चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४७ वर्षीया रामपरी यादव पनि घाइते भएकी छन्।
उनको दाहिने खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहातर्फ रवाना लिएर जाँदै गरेका बेला दुर्घटनामा परेका थिए।
दुर्घटनामा संलग्न कार र चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।





