सर्लाहीका १९ पालिकाले ल्याए बजेट, हरिवनमा फेरि राजनीतिक किचलो

२०८३ असार १०, बुधबार १९:५५

मलंगवा – यहाँका २० स्थानीय तहमध्ये १९ वटाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। तर राजनीतिक विवादका कारण हरिवन नगरपालिकाले भने कानुनी समयसीमाभित्र नगरसभा सञ्चालन गर्न सकेन।

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार जिल्लाका अधिकांश पालिकाले गाउँ तथा नगरसभा प्रारम्भ गर्दै बजेट सार्वजनिक गरेका हुन्।

हरिवन नगरपालिकामा भने बजेटको विषयमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नगरसभा अन्योलमा परेको छ। विगत केही वर्षदेखि दोहोरिँदै आएको बजेट विवाद यस वर्ष पनि कायम रहेको छ।

समयमै बजेट पारित हुन नसके विकास निर्माणका योजना प्रभावित हुने, कर्मचारीको तलब भुक्तानीमा समस्या आउने तथा संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत असर पर्न सक्ने अवस्था छ।

यता, अन्य पालिकाले भने निर्धारित समयमै बजेट सार्वजनिक गरेका छन्। गोडैता नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ४४ लाख ४५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। नगरप्रमुख देवेन्द्रकुमार यादवले नगरसभामा आय–व्यय विवरण पेश गर्दै उक्त बजेट प्रस्ताव गरेका हुन्।

बुधबार मात्रै मलंगवा, बरहथवा, बागमती र गोडैता नगरपालिकाले नगरसभा प्रारम्भ गरेका छन् भने विष्णु, बसबरिया, चक्रघट्टा, रामनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकाले गाउँसभा सञ्चालन गर्दै बजेट प्रस्तुत गरेका छन्।

यसअघि हरिपुर्वा नगरपालिकाले असार ५ गते र चन्द्रनगर गाउँपालिकाले असार ८ गते नै सभा प्रारम्भ गरिसकेका थिए। प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफल गरी असार मसान्तभित्र पारित गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार