सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको खुला मुस्लिम क्लस्टरमा बख्तियार अली र असिम साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै दुवै नेताको चर्चा अधिवेशन प्रतिनिधिहरूमाझ तीव्र बनेको छ। खुला मुस्लिम क्लस्टरतर्फ उम्मेदवारी दिएका असिम साह हाल प्रधानमन्त्री बालेन साहका सल्लाहकारका रूपमा कार्यरत छन्।

उनी प्रधानमन्त्रीको सचिवालयसँग आबद्ध रहेर काम गरिरहेका छन्। अर्कोतर्फ, बख्तियार अली रास्वपाको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका नेता हुन्। मधेश प्रदेशमा पार्टी संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अली हाल रास्वपाको मधेश प्रदेश सल्लाहकार परिषद्का संयोजकसमेत छन्।
करिब दुई दशक लामो पत्रकारिता अनुभव बोकेका अली पछिल्लो समय पार्टीभित्र प्रभावशाली रूपमा सक्रिय रहँदै आएका छन्। अधिवेशन प्रतिनिधिहरूमाझ उनको पक्षमा समर्थन बढ्दै गएको चर्चा छ। यता, प्रधानमन्त्रीका सल्लाहकारका रूपमा परिचित साह पनि बलिया दाबेदारका रूपमा हेरिएका छन्।
अधिवेशन प्रतिनिधिहरूका अनुसार खुला मुस्लिम क्लस्टरको निर्वाचनमा अली र साहबीच नै मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। दुवै उम्मेदवारले आफ्नो पक्षमा मत आकर्षित गर्न विभिन्न तहमा छलफल र भेटघाटलाई तीव्रता दिएका छन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत मंगलबार केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन कार्यालयले बुधबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
महाधिवेशनको निर्वाचन नजिकिँदै जाँदा खुला मुस्लिम क्लस्टरको प्रतिस्पर्धा पनि थप रोचक बन्दै गएको छ। अली र साहमध्ये कसले प्रतिनिधिहरूको विश्वास जित्ने हुन् भन्ने विषय अहिले चासोका साथ हेरिएको छ।





