मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो।

पक्राउ परेकामध्ये बागमती नगरपालिका – ६ निवासी आनन्द कुमार राय लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार वटा फरक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनीविरुद्ध तीन महिनादेखि तीन महिना १५ दिनसम्मको कैद सजाय तथा प्रत्येक मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी, बरहथवा नगरपालिका – १६ निवासी रामधारी राय यादव कुटपिट मुद्दामा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए। चक्रघट्टा गाउँपालिकाका सुरेश यादव, शेख इसराफुल, विजय साह सोनार, शेख ममताज र विजय साह कलवारलाई अपराधिक उपद्रव मुद्दामा जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै, चक्रघट्टा गाउँपालिका–६ का कृष्ण कुमार राय गम्भीर चोरी मुद्दामा दोषी ठहर भई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए।
ईश्वरपुर नगरपालिका–११ का भोला राय यादव र दीप बहादुर बल लागुऔषध मुद्दामा जनही २० हजार रुपैयाँ जरिवानाका फरार प्रतिवादी थिए भने चक्रघट्टा गाउँपालिका–७ का सत्रोधन कुशवाहालाई लागुऔषध मुद्दामा ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका सबै प्रतिवादीलाई असार २० गते सर्लाही जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।





