सर्लाहीका एकसहित तिन जना वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पक्राउ

२०८३ असार १३, शनिबार २०:१९
साङ्केतिक तस्बिर

सर्लाही – आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सर्लाहीका एक जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत तथा दाङका बलबहादुर चन्द ठकुरी रहेका छन्।

नेपाल प्रहरीका अनुसार गगनबहादुरले माल्दिभ्स पठाइदिने भन्दै चार जनाबाट जम्मा ४ लाख ३० हजार रुपैयाँ, निर्जल बस्नेतले मलेसिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ९० हजार रुपैयाँ तथा बलबहादुरले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका गगनबहादुर स्याङ्तानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। यस्तै, निर्जल बस्नेत र बलबहादुर चन्द ठकुरीलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले आकर्षक तलब र सहज रोजगारीको प्रलोभनमा नपरी वैदेशिक रोजगारीका लागि सरकारी स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार