आगामी तीन दिन भारी वर्षाः मधेसमा विशेष सतर्कता अपनाउन आग्रह

२०८३ असार १३, शनिबार २१:२२

सर्लाही – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गर्दै विशेषगरी मधेस प्रदेशका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार राति सार्वजनिक गरिएको विशेष मौसम बुलेटिनअनुसार आइतबारदेखि वर्षाको क्रम थप सक्रिय हुने र सोमबारसम्म यसको प्रभाव अझ बढ्नेछ। महाशाखाका अनुसार सोमबार रातिसम्म कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरी, मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागले वर्षासँगै केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि औंल्याएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै मधेस प्रदेशका विभिन्न स्थानमा हावाहुरीको जोखिम रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ।

महाशाखाले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, डुबान, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम सिर्जना हुन सक्ने जनाएको छ। विशेषगरी होचा भूभाग, नदी किनार र डुबानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि तथा अन्य सेवा–सुविधामा समेत प्रभाव पर्न सक्ने भएकाले अत्यावश्यक बाहेकका यात्रा मौसमको अवस्था बुझेर मात्र गर्न विभागले सुझाव दिएको छ। साथै मौसमसम्बन्धी पछिल्ला सूचना र अद्यावधिक जानकारी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा तीन दिनअघि, जेठ २८ गते कोशी प्रदेश हुँदै भित्रिएको थियो। हाल मनसुन देशभर सक्रिय रहेकाले अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसमविद्हरूले आगामी केही दिन वर्षाको प्रभाव अझ बढ्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार