आफ्नै उम्मेदवारलाई हराएको भन्दै कांग्रेसले सोध्यो ईश्वरपुरका मेयर मनोजलाई स्पष्टीकरण

२०८३ असार १६, मंगलवार १०:२७

मलंगवा – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख तथा महाधिवेशन प्रतिनिधि मनोजकुमार आचार्यसँग लिखित स्पष्टीकरण मागेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लागेपछि समितिले पाँच दिनभित्र जवाफ बुझाउन निर्देशन दिएको हो।

ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनबाट जारी पत्रअनुसार, गत २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आचार्यले पार्टीको हितविपरीत गतिविधि गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले केन्द्रीय अनुशासन समितिमा दिएको उजुरीमा नगरप्रमुख आचार्यले चुनावी सभा, कार्यकर्ता भेला तथा पार्टीका आधिकारिक कार्यक्रमहरूमा सहभागिता नजनाएको मात्र नभई आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले विभिन्न गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।

समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा किन कारबाही नगर्ने भन्ने विषयमा स्पष्ट आधारसहित पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। पत्रमा विधानको धारा ३४ को उपधारा ८(घ) बमोजिम स्पष्टीकरण बुझाउन निर्देशन दिइएको उल्लेख छ।

समितिले तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा पार्टी विधानअनुसार अनुशासन उल्लंघनको कसुरमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार