आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार, वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ

२०८३ असार १७, बुधबार १६:३३
साङ्केतिक तस्बिर

सर्लाही – वीरगन्जको व्यस्त बजार क्षेत्रमा साइकलमा आँप बिक्री गर्दै आएका एक भारतीय नागरिक ठूलो परिमाणको ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा गरेको निगरानीका क्रममा लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, बेतिया थाना अन्तर्गत गोपालपुर ग्राम पञ्चायत २ घोघाका स्थायी बासिन्दा ३० वर्षीय गुड्डु आलम हुन्। उनी हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–९ स्थित सडकपेटीमा साइकलमा आँप बेच्ने व्यक्तिले गोप्य रूपमा ब्राउन सुगरसमेत बिक्री गरिरहेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले शंकास्पद रूपमा आँप बिक्री गरिरहेका आलमको साइकल खानतलासी गर्दा पछाडिको चक्का नजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो र त्यसको भित्र सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) फेला पारेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित आलमलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका आलममाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार