सर्लाही – मधेस आन्दोलनका क्रममा भएको असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पूर्वसांसद लक्ष्मी महतो (कोइरी ) लाई पाँच वर्ष कैद सजाय सुनाएको छ। यससँगै घटनामा संलग्न अन्य पाँच प्रतिवादीलाई पनि समान सजाय हुने फैसला गरिएको छ।
बुधबार मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको अघिल्लो फैसला आंशिक रूपमा उल्ट्याउँदै नयाँ फैसला सुनाएको हो।

अदालतले पूर्वसांसद लक्ष्मी महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे तथा पवन कापरलाई मुलुकी ऐनको ज्यान सम्बन्धी व्यवस्था अनुसार जनही पाँच वर्ष कैद सजाय हुने ठहर गरेको छ।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते लक्ष्मी महतो र पवन कापरसहितका प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला कानुनअनुसार नमिलेको निष्कर्ष निकाल्दै त्यसलाई आंशिक रूपमा बदर गरेको हो।
फैसलाको संक्षिप्त विवरणमा जिल्ला अदालतको निर्णय सो हदसम्म नमिलेको भन्दै उल्ट्याइएको र अभियुक्तहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धीको दफा १७(२) बमोजिम पाँच वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ।
यो मुद्दा दोस्रो मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा भएको घटनासँग सम्बन्धित हो। आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) थमन विकलाई एम्बुलेन्सबाट बाहिर निकालेर आन्दोलनरत समूहले हत्या गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो।





