सर्लाही – काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ स्थित बौथली चोकमा मोटरसाइकल अनियन्त्रित भएर सडकछेउमा रहेको पसलमा ठोक्किँदा रौतहटका एकै परिवारका तीन जनासहित पाँच जना घाइते भएका छन्।
बुधबार साँझ भएको दुर्घटनामा रौतहटको राजदेवी नगरपालिका – २ निवासी ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा.प्र.०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर र उनीहरूका ३ वर्षीय छोरा रुस्तम ठाकुर घाइते भएका छन्। साथै चन्द्रागिरी–८ बौथली चोकका ५ वर्षीया युजला श्रेष्ठ र २ वर्षीय सरोज तामाङ पनि घाइते भएका छन्।
घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा सबै घाइतेलाई उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।





