धनुषामा विहेको रथ अनियन्त्रित भएर किच्दा बालिकाको मृत्यु

२०८३ असार १९, शुक्रबार १६:५०
सांकेतिक तस्बिर

सर्लाही – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका – ४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा विहेको रथ अनियन्त्रित भएर किच्दा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय केश्वर मुखियाकी छोरीको विवाहको अवसरमा गएराति मटकोर विधि सञ्चालन भइरहेको थियो। सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बरको विहेको रथको ब्रेक अचानक फेल भएपछि रथ अनियन्त्रित भई विवाह समारोहस्थलमा पसेको थियो।

दुर्घटनामा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया पनि घाइते भएकी छन्। उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले दुर्घटनामा संलग्न रथलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार