सर्लाही – सिरहामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर भारतको बिहार राज्य, मधुवनी जिल्लाका करिब २४ वर्षीय अब्दुल कलाम घाइते भएका छन्। उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार भारतसँग सीमा जोडिएको सिरहाको नवराजपुर गाउँपालिका – ४ मा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

गोली कलामको खुट्टामा लागेको प्रहरीले जनाएको छ। उनको साथबाट १२२.८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार घटनाका बेला दुईवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा चार जना आएका थिए।
प्रहरीको कारबाहीपछि तीन जना भारततर्फ फरार भएका छन् भने घटनास्थलबाट दुवै मोटरसाइकल प्रहरीले बरामद गरेको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको सूचना अधिकारी डीएसपी पालले जानकारी दिए।





