सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार राजपुर नगरपालिका – ५ मा रहेको जनता (नमूना) माध्यमिक विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाई झुट्टा बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी रकम भुक्तानी गरिएको पाइएको हो।

अनुसन्धानबाट ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको निर्माण कार्य नगरी सोही रकम गैरकानुनी रूपमा भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ। यसबाट नेपाल सरकार तथा विद्यालयको कोषमा बराबरको आर्थिक क्षति पुगेको दाबी गरिएको छ।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल शेख जहिरलाई प्रतिवादी बनाइएको छ।
आयोगले चारै जनाविरुद्ध ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको माग गरेको छ। साथै तत्कालीन इन्जिनियर फैसलले झुट्टा प्राविधिक प्रतिवेदन तयार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।
आयोगका अनुसार राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास कार्यक्रम सञ्चालनका लागि बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको थियो।
निर्माण सम्पन्न भएको भन्दै वास्तविकभन्दा बढी लागत देखाएर प्राविधिक मूल्याङ्कन तयार पारिएको र थप बजेटसमेत माग गरिएको अनुसन्धानबाट खुलेको छ। तर अख्तियारले गरेको स्थलगत नापजाँच र प्राविधिक परीक्षणमा मूल्याङ्कनमा उल्लेख गरिएअनुसारको निर्माण कार्य नभएको पुष्टि भएपछि संलग्न पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।





