सर्लाही – काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ५ जम्बुडाँडा स्थित पहेलो पुलबाट स्रोत नखुलेको ३९ लाख ४१ हजार ६ सय २० रुपैयाँ नगदसहित बाराका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका – ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका – १४ कालिमाटी बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवार रहेका छन्। प्रहरीका अनुसार बिहीबार दिउँसो प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले विशेष निगरानीका क्रममा कलवारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो।

जाँचका क्रममा उनीसँग रहेको ३९ लाख ४१ हजार ६ सय २० रुपैयाँ नगदको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले रकमसहित उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





