सर्लाही – वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा उखु किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै सरकारले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
सरकारका अनुसार चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलमार्फत उखु बिक्री गरेका करिब ६८ हजार किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये झण्डै ९२ प्रतिशत रकम भुक्तानी भइसकेको छ।

सरकार गठनको १०० दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस आर्थिक वर्षभित्रै किसानले भुक्तानी पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जानकारी दिए।
उनका अनुसार सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराउने करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको छ। उक्त रकम असार २५ गतेभित्र किसानको बैंक खातामा जम्मा हुने प्रक्रियामा रहेको उनले बताए।
बैंक खाता, प्यान नम्बर लगायतका प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानको बाँकी भुक्तानीसमेत आवश्यक प्रक्रिया पूरा गरी तत्काल उपलब्ध गराइने सरकारको १०० दिने उपलब्धि विवरणमा उल्लेख गरिएको छ।
यससँगै सरकारले कृषि क्षेत्रको सुधारका लागि कृषि बजार सूचना प्रणाली सञ्चालन, चिस्यान केन्द्र स्थापना, ‘स्वाइल हेल्थ कार्ड’ वितरण तथा माटो परीक्षण कार्यक्रमलाई पनि अगाडि बढाएको जनाएको छ।
कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा रहेको जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ। यसले कृषकलाई सहज रूपमा कर्जा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, देशभरका किसानको विवरण विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत २५ लाख ५८ हजार १९८ किसानमध्ये हालसम्म सात लाख ५० हजार किसानको विवरण प्रमाणीकरण भइसकेको सरकारले जनाएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण, अध्ययन तथा दीर्घकालीन समाधानका कार्यक्रमसमेत सक्रिय रूपमा अघि बढाइएको सरकारको दाबी छ।





