कानुनी सचेतनाको कमीले अदालतमा मुद्दाको चाप बढ्यो : मधेसका मुख्यमन्त्री यादव

२०८३ असार २०, शनिबार २०:२८
file image

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले नागरिकमा कानुनी ज्ञान र सचेतनाको अभावका कारण अदालतहरूमा मुद्दाको संख्या निरन्तर बढ्दै गएको बताएका छन्।

मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले कानुनबारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिक अनजानमै कानुन उल्लङ्घन गर्ने अवस्थामा पुग्ने गरेको बताए।

उनले नेपालमा अझै कानुनी सचेतनाको स्तर अपेक्षित रूपमा विकास हुन नसकेको उल्लेख गर्दै प्रत्येक नागरिकसम्म कानुनी शिक्षा र जानकारी पुर्‍याउनु आजको आवश्यकता भएको धारणा राखे। कानुनप्रति जनचेतना अभिवृद्धि भए अदालतमा पुग्ने विवाद र मुद्दाको संख्या समेत घट्न सक्ने उनको विश्वास थियो।

मुख्यमन्त्री यादवले जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा जोड दिँदै सामान्य प्रकृतिका गल्ती वा परिस्थितिजन्य घटनामा भने व्यवहारिक दृष्टिकोण अपनाउन आवश्यक रहेको बताए। उनले नेपालका कारागारमा रहेका सबै कैदीलाई वास्तविक अर्थमा दोषी ठहर गर्न नमिल्ने दाबी गर्दै कतिपय व्यक्ति कागजी प्रमाणका आधारमा मात्रै जेल जीवन बिताइरहेको अवस्था रहेको टिप्पणी गरे।

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले बदलिँदो समय र समाजको आवश्यकता अनुसार न्याय प्रणालीलाई पनि परिमार्जन र सुदृढ बनाउनुपर्ने बताए। संविधान समयसापेक्ष रूपमा संशोधन र सुधार हुँदै जाने भएकाले कानुन तथा न्याय प्रणाली पनि त्यसैअनुसार अद्यावधिक हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री महतोले सामाजिक, सांस्कृतिक तथा भाषिक विविधता रहेको मधेस प्रदेशमा सबै नागरिकले सहज रूपमा न्याय प्राप्त गर्ने वातावरण सिर्जना गर्न न्याय प्रणालीलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार