मधेशमा लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान: २० दिनमै ५८ जना पक्राउ

२०८३ असार २०, शनिबार २२:१५
साङ्केतिक तस्बिर

सर्लाही – मधेश प्रदेशमा लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। गत असार १ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा प्रदेशका आठवटै जिल्लाबाट कुल ५८ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा जिल्ला अग्रस्थानमा रहेको छ, जहाँबाट १५ जना पक्राउ परेका छन्। त्यसैगरी पर्साबाट ११, धनुषाबाट १०, महोत्तरीबाट ९, बाराबाट ५, सप्तरी र सर्लाहीबाट समान ३/३ तथा रौतहटबाट २ जनालाई नियन्त्रणमा लिइएको छ।

विशेष अभियानका क्रममा पक्राउ परेका व्यक्तिहरूको साथबाट गाँजा, ब्राउन सुगर (खैरो हिरोइन) तथा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका लागुऔषधको स्रोत, परिमाण तथा यससँग सम्बन्धित सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले पक्राउ परेका सबै व्यक्तिविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साथै, प्रदेशभर फैलिएको लागुऔषधको अवैध कारोबार, ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि विशेष अभियानलाई आगामी दिनमा अझ प्रभावकारी, सशक्त र निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता पनि प्रहरीको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार